काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ। 

बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ६४ लाख ३७ हजार २३१ रुपैयाँ र सालीमार मेटल्स प्रालिलाई ३२ लाख ८ हजार ८०० रुपैयाँ रकम हस्तान्तरण गरेको हो। मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्रउपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको थियो। 

नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए। 

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले यो आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्सिक्युटिङ एजेन्सी (पीईए) का रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ। यस आयोजनाअन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ। 

उक्त समारोहमा एनईईपी÷जीआईजेडका प्रमुख सल्लाहकार फ्राङ्क बुमर, केएफडब्ल्यू काठमाण्डौका प्रतिनिधि निरज सुवेदी, बैंकका विभागीय नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः प्रदीप निरौला, प्रशान्त नेपाल, सन्दीप खडका, विजयसिंह बैद्यलगायत कर्मचारीहरुकोे उपस्थिति थियो।