काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त अमेरिकामाथि ऋणको संकट बढेको छ।  

अमेरिकामाथि हाल ३१४०० अर्ब डलर ऋण रहेको छ। अमेरिकी सरकारले ऋण लिने सीमा नाघेको छ। 

ऋण तिर्नका लागि अमेरिकी सरकारले थप ऋण लिनुपर्ने हुन्छ। अर्थात् ऋणको सीमा बढाउनुपर्ने हुन्छ। यदि यसका लागि कुनै सम्झौता भएन भने अमेरिका जुन १ सम्म डिफल्ट हुनेछ।

यसैबीच ऋणको संकट बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनपछि पपुवा न्युगिनी र अस्ट्रेलियाको आफ्नो निर्धारित भ्रमण रद्द गरेका छन्।

बाइडेनले जापानमा हुने जी–७ शिखर सम्मेलनमा भाग लिएर फर्किने र अस्ट्रेलियामा हुने क्वाड नेताहरुको शिखर सम्मेलनमा सहभागी नहुने बताएका छन्।

राष्ट्रपति बाइडेनले मंगलबार ह्वाइट हाउसमा यस सम्बन्धमा आपतकालीन बैठक पनि डाकेका थिए। 

क्वाड देशहरुको बैठक मे २२ देखि २४ मेसम्म अस्ट्रेलियाको सिड्नीमा हुने भनिएको थियो।

बाइडेनको भ्रमण रद्द भएपछि क्वाडको आयोजना गरिरहेको अस्ट्रेलियाले सिड्नीमा हुने चार देशका नेताहरुको बैठक पनि स्थगित गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई उद्धृत गर्दै अस्ट्रेलियाली सञ्चारमाध्यमले यो जानकारी दिएको हो।

यससँगै जापानमा हुन लागेको जी–७ को बैठकमा सम्भावित ४ देशका नेताबीच भेटवार्ता हुने बताइएको छ। बिडेनले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई आफ्नो भ्रमण रद्द भएको जानकारी गराइसकेका छन्। –एजेन्सी