काठमाण्डौ । अमेरिकाका दुई बैंक डुबेसँगै विश्व बजार तरङ्गित बनेको छ। 

अमेरिकाका सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टेर बन्द भएपछि विश्व बजारमा अहिले त्रास सिर्जना भएको छ। 

खराब कर्जा बढ्नु र निक्षेपकर्ताले बैंकप्रति विश्वास गुमाएर एकैपटक ठूलो परिमाणमा निक्षेप निकाल्दा ती बैंकहरु टाट पल्टेका हुन्। 

अमेरिकामा बैंकहरु बन्द हुनु र नेपाल राष्ट्र बैंकले आइतबारमात्रै अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारी गर्नुले नेपालको बैंकिङ क्षेत्रमा पनि संकट परेको हुन सक्ने आशङ्का गर्न थालिएको छ।

राष्ट्र बैंकले विविध कारणले यदि बैंक तथा वित्तीय संस्था समस्यामा परेमा अन्तिम ऋणदाता सुविधा सुविधा प्रदान गर्ने विनियमावलीमा उल्लेख छ। अप्ठेरोमा परेका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले अन्तिम ऋणदाता सुविधाका लागि राष्ट्र बैंकसमक्ष अनुरोध गर्न सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ। 

अमेरिकामा बैंकहरु एकपछि अर्को गर्दै टाट पल्टिरहेकै अवस्थामा बैंक टाट पल्टिने अवस्थामा प्रयोग गर्ने सुविधालाई कार्यान्वयनमा ल्याउने गरी विनियमावली किन जारी भयो ? के नेपालका बैंकहरुमा पनि संकटको बादल मडारिन थालेको केन्द्रीय बैंकको विश्लेषण हो ? अथवा, यो संयोग मात्र हो ? 

‘सीडी रेसियो मेन्टेन छ, अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशतको हाराहारीमा मात्रै छ, बैंकहरुले एसएलएफ सुविधा पनि लिइरहेका छैनन् । यसले पनि बैंकहरुमा तरलता सहज हुँदै गएको देखिन्छ । त्यसकारण नेपाली बैंकहरु पनि टाट पल्टिने पो हुन कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन ।
-नारायण पोखरेल(सहप्रवक्ता)–नेपाल राष्ट्र बैंक

 

राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल अमेरिकामा बैंक डुब्नु र राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली ल्याउनुलाई संयोगमात्र मान्नुपर्ने बताउँछन्। ‘नेपालको बैंकिङ क्षेत्र अहिले कम्फर्टेबल जोनमै छ, आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘बैंकिङ सूचकहरु हेर्ने हो भने पनि बैंक तथा वित्तीय संस्थाहरु सहज अवस्थामै रहेको प्रस्ट हुन्छ।’

पोखरेलका अनुसार राष्ट्र बैंकले यसअघि पनि अन्तिम ऋणदाता सुविधा दिएको थियो। ‘पहिले राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर यो सुविधा दिने गरिन्थ्यो’, उनले भने, ‘अहिले विनियमावली नै बनेर आएको मात्र हो। विनियमावली आएपछि अब प्रक्रियागत ढंगले यो सुविधा प्रदान गर्न सहज हुने अवस्था बनेको छ । यो सकारात्मक हो।’

नेपाल बंगलादेश बैंकको उदाहरण दिँदै पोखरेल यसअघि उक्त बैंकलाई राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले अन्तिम ऋणदाता सुविधा प्रदान गरिएको जानकारी दिए। 

बैंकहरुप्रति जनताको विश्वास गुम्दा र एकैपटक ठूलो परिणाममा निक्षेप झिक्दा ‘बैंक रन’को अवस्था आउने पोखरेलको भनाइ छ। ‘तर, नेपालका बैंकहरु अहिले सहज अवस्थामै छन्’, उनले भने, ‘अहिले बैंकहरुको ध्यान निक्षेप तान्नेभन्दा कर्जा असुलीमा बढी फोकस छ।’

राष्ट्र बैंकले बेला–बेला विभिन्न वित्तीय उपकरण प्रयोग गरी तरलता सहज बनाइरहेको पोखरेलले बताए। ‘सीडी रेसियो मेन्टेन छ, अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशतको हाराहारीमा मात्रै छ, बैंकहरुले एसएलएफ सुविधा पनि लिइरहेका छैनन्’, उनले भने, ‘यिनै कारण बैंकहरुमा तरलता सहज हुँदै गएको प्रस्ट हुन्छ।’

त्यसैले बैंक रन(बैंक टाट पल्टिने) हुन्छ कि भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ।