सेयर बजारमा दैनिक नयाँ–नयाँ रेकर्ड कायम भएसँगै अहिले चिया पसलदेखि सार्वजनिक यातायातसम्म र देशका कुना–कुनादेखि विदेशमा रहेका नेपालीसम्म नेपालको सेयर बजारको चर्चा गर्न थालेका छन्। सामाजिक सञ्जालहरुमा पनि अहिले सेयर बजार बढेको विषयमा व्यापक चर्चा हुन थालेका छन्। कतिपयले त बढ्दो बजारमा मैले अलि कति ऋण गरेर सेयरमा लगानी गर्दा कसो होला ? भनेर रायसुझाव मागेको पनि पाइन्छ।

व्यापारमा पुँजी संरचनाको एउटा नियम हुन्छ। कुनै पनि संघसंस्था अथवा कम्पनीले आफ्नो व्यापार योजनाअन्तर्गत पुँजी संरचना खडा गर्छ। चाहे त्यो व्यक्ति होस अथवा संस्था, पुँजी जुटाउँदा कति संस्थापक सेयर, कति सधारण सेयर अर्थात् इक्विटी क्यापिटल लगाउने र कति ऋण लिने भन्ने विषयमा समान्य एउटा विश्वव्यापी मान्यता पाइन्छ। खासगरी यसमा ६० प्रतिशत सेयरबाट जुन साधारण तथा संस्थापक र अधिकतममा ४० प्रतिशतसम्म ऋण लिँदा संस्था बलियो र दिगो हुन्छ भन्नेछ। अधिकतम ४० प्रतिशत राख्नुको कारण के हो भने संस्थाले लिएको ऋण साँवाब्याजसहित फिर्ता गर्नुपर्ने हुन्छ। जति थोरै ऋण भयो त्यति नै थोरै ‘पे ब्याक पिरियड’ हुने र संस्था छिटो नाफामा गएर प्रतिफल दिन सक्ने हो। तर अधिकांश संस्थाहरुले यो सिद्धान्त लागू गरेको पाइँदैन। अर्थात पुँजी जुटाउँदा जति थोरै ऋण भयो, त्यति नै कम ब्याज खर्च हुने हँुदा ऋणको मात्रा कम भएकै राम्रो हो। तर भविष्यको प्रतिफलको सम्भावानालाई हेरेर संस्थाले ऋण लिन सक्छ। 

त्यसो त ऋण संस्थाले मात्रै नलिएर राष्ट्रले पनि लिन सक्छ। खासगरी राष्ट्रले ऋण लिँदा जीडीपीलाई ध्यान दिनु पर्छ। यो भयो राष्ट्र र संस्थाको विषय। 

अब व्यक्तितिर जाऔँ। व्यक्तिले ऋण लिँदा पनि त्यही नै हो। लगानी केमा गर्ने ? भविष्यमा प्रतिफल के ? जोखिमको सम्भावना कति ? यी सबै कुरालाई ध्यानमा राखेरमात्र ऋण लिनुपर्छ।

सेयर लगानीमा ऋण कति उपयुक्त ?

सबैभन्दा पहिले बुझौँ ऋण के हो ? यदि चलाउन जानियो भने ऋण चुम्बक हो। जसरी चुम्बकले अर्को धातु तान्छ, त्यसरी नै ऋण लिएको पैसाले थप पैसा तान्छ। यदि चलाउन जानिएन भने यो निकै जोखिम पनि हुन्छ। कोही पनि व्यक्तिले व्यापार आफ्नोमात्रै पुँजीले गरेको हुँदैन। व्यापारका लागि केही न केही स्रोत जुटाउनै पर्छ। स्रोत जुटाउने क्रममा आफ्नो जायजेथा, सुन तथा घरघडेरी धितो राखेर ऋण लिने बजारमा लागेका प्रायः सबै लगानीकर्ताको चलन हो। 

दोस्रो बजारमा लागेकामध्ये कमै होलान् जो आफ्नोमात्रै पुँजीले चलेका छन्। आफ्नोमात्रै पुँजीले चल्नेले खासै धेरै सोचिरहन परेन। यदि हामीले ऋण लिन्छौँ भने हामीले धेरै सोच–विचार गर्नैपर्छ। हामीले लिने ऋण कति समयका लागि हो ? कति ब्याज तिर्नुपर्छ ? कति रकम लिने ? आफ्नो ऋण तथा ब्याज तिर्ने क्षमता के हो ? अर्थात् मैले ऋण तथा सापट लिएर सेयर बजारमा कस्तो कम्पनीमा लगाएको छु ? बजार जेसुकै भए पनि त्यो कम्पनीले वार्षिक कति प्रतिशत प्रतिफल दिन्छ ? र मैले कति प्रतिशत ब्याजमा ऋण लिएँ ? सेयर बजारको ट्रेन्ड कुन हो ? अहिले किन्दा वा बेच्दा फाइदा हुन्छ भन्ने कुराको निक्र्योल पहिला नै गरिनुपर्छ। 

सेयर बजारका बादशाहा वारेन बफेटले भनेका छन्, ‘कहिल्यै पनि सबै अन्डा एउटै बास्केटमा नराख्नुस्।’ यसको अर्थ हो– लगानीलाई विभिन्न सेक्टरमा लगाएर जोखिम कम गरिनुपर्छ। अझै प्रस्ट भन्नुपर्दा सेयरबाहेक तपाइँको दोस्रो आम्दानीको स्रोत पनि हुनुपर्छ। जसले गर्दा बजारमा हुने उतारचढावमा आफू सुरक्षित रहन सकिन्छ।

सेयर शिक्षा किन आवश्यक छ ?

शिक्षा आँखाको ज्योति हो भन्ने हामी सबैले जानेबुझेकै हो। सबै ठाउँमा ज्ञानको आवश्यक हुन्छ। सेयर बजारमा त झन् धेरै आवश्यक हुन्छ। जसरी दिन र रात छुट्याउन आँखाको ज्योति आवश्यक हुन्छ, त्यसरी नै सेयर बजारमा बुल र बियर छुट्याउन शिक्षाको ज्योति आवश्यक हुन्छ। 

सेयर बजारमा मुख्यगरी दुईवटा चिज जान्नैपर्ने हुन्छ। पहिलो– सेयरको आधारभूत ज्ञान। आधारभूत ज्ञानमा कस्तो कम्पनीको कसरी छनोट गर्ने ? भन्ने कुरा हुन्छ भने प्राविधिक ज्ञानमा छनोट गरिएको कम्पनी कुन समयमा किन्ने भन्ने हुन्छ। अझै प्रस्ट भन्नुपर्दा आधारभूत ज्ञानले कम्पनीलाई महत्व दिन्छ भने प्राविधिक ज्ञानले समयलाई महत्व दिन्छ। सही समयमा सही कम्पनी छनोट गर्नु नै सेयर बजारको मुख्य विशेषता हो।

यदि तपाइँ सेयर बजारमा आउन चाहनुहुन्छ भने दिनमा कम्तीमा ४ घन्टा अध्ययन अनिवार्य छ। हरेक कम्पनीका रिपोर्ट र कम्पनीले बजारमा गरेको व्यापार जान्नबुझ्न आवश्यक छ। त्यसका लागि अनिवार्य होमवर्क जरुरी छ। जसरी हामी कलेजमा पढ्दा मेहनत गर्छौं, त्यही मेहनत र लगनशीलता सेयर बजारमा पनि जरुरी हुन्छ। अध्ययन गरेर लगाएको लगानीले अल्पकालमा नोक्सान भए पनि दीर्घकालमा फाइदै हुन्छ।