काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ आज संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायहरुसँग यस्तो माग गरेको हो। ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्नुपर्छ’, विज्ञप्तिमा भनिएको ‘तर, ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्ति–सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको सञ्चालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिन सरोकारवाला सबै निकायसँग अनुरोध गर्दछौं।’
आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा सञ्चालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा विज्ञप्तिमार्फत त्यस्ता कार्यको घोर निन्दा गरिएको छ। ‘यस विषयमा सुरक्षा निकायले यथाशीघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारी र ग्राहकको सुरक्षाका लागि माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध हामी सशक्त रुपमा प्रस्तुत हुने छौँ।’
मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध रुपमा सञ्चालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैरकानुनी हुने सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ। ‘ग्राहकले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा सञ्चालनमा कुनै बाधा पुर्याइएको खण्डमा सोउपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त छौँ’, विज्ञप्तिमा भनिएको छ।
अर्थतन्त्रको प्रमुख स्तम्भका रुपमा स्थापित बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले मुलुकको विकास, आमसर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुविधा, आर्थिक वृद्धिमा खेलेको भूमिका, रोजगारी सिर्जनालगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा दिएको योगदानको बारेमा सबै जानकार नै रहेको विज्ञप्तिमा जनाइएको छ। ‘भूकम्पपछिको समय होस् वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितीमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र आफ्ना ग्राहकलाई सेवा पुर्याउन खटिएको व्यहोरा स्मरण गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago