काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले ऋण लिएर नतिर्ने धम्कीले बैंकिङ क्षेत्र त्रसित बनेको जनाएको छ। 

सिबिफिनले आज वक्तव्य जारी गर्दै ब्याजमात्र होइन साँवासमेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्नेजस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको जनाएको छ। बैंकिङ सेवाजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उच्छृंखखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्नेजस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्न सिबिफिनले सरकारसँग माग गरेको छ। ‘कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याई आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ’, वक्ताव्यमा भनिएको छ। 

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आमजनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने पनि सिबिफिनले जनाएको छ। ‘यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसञ्चारका रुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सिर्जना गर्न तथा गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौंँ’, वक्ताव्यमा भनिएको छ।  

अहिले अतिविकसित देशदेखि विकासोन्मुख अधिकांश देशहरुले तरलता, ब्याजदर र मुद्रास्फीतिजस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै रहेको सिबिफिनले जनाएको छ। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्तिजस्ता विषयहरुले ब्याजदर निर्धारण हुने विषय पनि घामजत्तिकै छर्लङ छ’, वक्तव्यमा उल्लेख छ, ‘स्वयं नेपाल सरकार, आमउद्यम–व्यवसाय र सर्वसाधारणसमेतले अनपेक्षित रुपमा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबैजना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याजमात्र होइन साँवासमेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्नेजस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित बनेको छ।’