काठमाण्डौ । गाडी निर्माता कम्पनी फोर्डले जर्मनीस्थित आफ्नो कारखाना एक महिनाका लागि बन्द गरेको छ। यो कम्पनीले भारतको चेन्नाईस्थित कारखाना पनि एक साताका लागि बन्द गरेको छ।

फोर्डले आफ्ना कारखाना धमाधम बन्द गर्नुको पछाडि एउटा सानो ‘चिप’ को भूमिका अहम् देखिन्छ। त्यो हो सेमीकन्डक्टर। यो चिपको कमीकै कारण फोर्डमात्रै होइन विश्वभरका गाडी निर्माता कम्पनीहरुलाई आफ्ना उत्पादनहरु रोक्नुपर्ने अवस्था सिर्जना भएको छ। 

फोर्डले आउँदो फेब्रुअरीसम्मका लागि जर्मनीको सार्लोइसस्थित काराखाना बन्द गरेको छ। यो कारखानाबाट युरोपमा लोकप्रिय फोर्डको फोकस कार निर्माण हुँदै आएको छ। त्यहाँ लगभग ५ हजार कर्मचारी कार्यरत छन्। 

कम्पनीले यो अवस्थाको निगरानी गरिरहेको जनाएको छ। उसले कर्मचारील सप्लार्य, ग्राहक र डिलरमा पर्ने असर कम गर्नका लागि उत्पादनलाई पुनर्तालिका गर्ने काम भइरहेको जनाएको छ। 

लकडाउनका कारण विश्वभरका कारहरु बिक्री घट्यो। तर ग्याजेट्सको माग निकै बढ्यो। सेमीकन्डक्टर बनाउने ठूला कम्पनीहरुले स्मार्टफोन, ल्यापटप, गेमिङ कन्सोल र अन्य इक्पिमेन्ट्स बनाउने कम्पनीहरुलाई यो चिप सप्लाई गर्न थाले। ती कम्पनीहरुले निकै कम मात्रामा कार निर्माता कम्पनीहरुलाई पनि यो चिप सप्लाई गर्दै आएका छन्। 

एउटा कारमा त्यसमा रहेका फिचरहरुअनुसार न्यूनतम ५० देखि अधिकतम १५० वटा यस्ता चिप लाग्छन्। अहिले त्यस्ता चिपको न्यून आपूर्तिकै कारण कार निर्माता कम्पनीहरु समस्यामा परेका हुन्। 

यही चिपकै कमीका कारण अडीको जर्मनी र मेक्सिकोस्थित कारखानामा उत्पादन कम भएको छ। त्यसैले उसले केही समयका लागि १० हजार कर्मचारीलाई बिदा दिएको छ। 

फियट क्रिस्लरले पनि मेक्सिको र टोयोटाले चीनको ग्वांग्झुस्थित काराखाना अस्थायी रुपमा बन्द गरेको छ। निसान, होन्डा र हुन्डईजस्ता कम्पनीले पनि चिप कमीकै कारण उत्पादनहरु कटौती गरिरहेको छ। जनरल मोटर्स र रेनोले पनि उत्पादन तत्काल कटौती नगरे पनि चिपको कमीसँग जुझिरहेका छन्। बीएमडब्ल्यूले पनि आफ्ना उत्पादन रोकेको त छैन तर लगातार चिप सप्लाई गर्ने कम्पनीहरुसँग सम्पर्क बढाएको छ। – एजेन्सी