काठमाण्डौ । कर्जाको उच्च माग, तर त्यसको तुलनामा स्रोतको अभावका कारण देशका अधिकांश वाणिज्य बैंकहरु अहिले तरलता संकटको भूमरी परेका छन् । अधिकांश वाणिज्य बैंकहरुले माग भएको कर्जा प्रवाह गर्न त सकेका छैनन् नै नियामकीय व्यवस्थाअनुसारको तरलताको व्यवस्थापन गर्न समेत राष्ट्रबैंकसँग हारगुहार गर्नु परिरहेको छ । यसैको परिणामस्वरुप मंगलबार मात्र वाणिज्य बैंकहरुले १५ अर्ब ३७ करोड रुपैयाँ स्थायी तरलता सुविधा(एसएलएफ)को प्रयोग गरेका छन् ।

चालु आर्थिक वर्षको २६ कार्यदिनमा बैंकहरुले राष्ट्रबैंकबाट ३ खर्ब ३१ अर्ब बढी एसएलएफको प्रयोग गरिसकेका छन् । 

एसएलएफ चलाउनुपर्ने बाध्यता पछाडिको मुख्य कारण भनेको बैंकहरुले राष्ट्रबैंकमा दैनिक रुपमा राख्नुपर्ने अनिवार्य नगद अनुपात(सीआरआर) हो ।

वाणिज्य बैंकहरुले हरेक दिन कायम हुने निक्षेप रकमको ३ प्रतिशत रकम सीआरआरको रुपमा केन्द्रीय बैंकमा राख्नुपर्ने हुन्छ । तरलताको संकट चरम बनेसँगै नियामकीय व्यवस्थाअनुसारको सीआरआर मेन्टेन गर्नलाई समेत एसएलएफ लिनुपर्ने अवस्थामा बैंकहरु पुगेका छन् । 

दैनिकजसो यो सुविधाको प्रयोग गर्ने बैंकहरुको सूची लामै रहेकोले समेत तरलताको अवस्था कतिसम्म जटिल बन्दैछ भन्ने देखिन्छ । 

तर, तरलता संकटका यी सारा समस्या भन्दा पर एउटा वाणिज्य बैंक भने आफ्ना सहकर्मी अन्य बैंकहरुको गर्जो टाँर्दै सुविधाजनक अवस्थामा बसिरहेको छ । तरलता फालफाल हुँदा धेरै बैंकले ब्याजदर घटाएर भएको निक्षेप समेत गुमाउँदा यो बैंकले धैर्यता प्रदर्शन गरेको थियो । त्यहीकारण उसमा निक्षेपको अवस्था सुविधाजनक थियो, जसका कारण आज सिटिजन्स बैंक इन्टरनेशनल पर्याप्त तरलताका बीच सहकर्मी बैंकहरुको गर्जो टार्दै बसिरहेको छ । 

सिटिजन्स बैंकले केही दिनको बीचमा २१ वटा बैंकलाई कर्जा सापटी दिइसकेको छ । यो अवधिमा ३ अर्ब हाराहारीमा सिटिजन्सले कर्जा सापटी दिएर अन्य बैंकहरुको गर्जो टारिदिएको हो । 

बैंकस्थित उच्च स्रोतका अनुसार मंगलबार मात्रै यो बैंकबाट ५ वटा अन्य वाणिज्य बैंकले १ अर्ब रुपैयाँ सापटी लिएर गएका छन् । 

बैंक आफैं पनि पर्याप्त तरलता सुविधासहित माग भएको कर्जा आनन्दले प्रवाह गर्दै बसिरहेको छ । स्रोतका अनुसार अहिले पनि सिटिजन्स बैंकमा लगानीयोग्य रकम ७ अर्ब रुपैयाँ रहेको छ । 

‘धेरै चम्किएर काम छैन भन्ने लाग्यो । यसअघि एकदुईपटक पहिला धोका खाइसकेको हुनाले यो पटक जोखिम लिएनौं ।’ विगत सम्झिँदै बैंकका एक अधिकारीले बिजशालासँग भने–‘हामीले लिएको रणनीतिले काम गरेको छ । हामीसँग भएको एक्सेस पैसा अन्तरबैंकमा करिब ५ प्रतिशत ब्याजदरमा लगाउने अवसर पाइरहेका छौं । हामीलाई त ट्रेजरी बिलभन्दा फाइदा छ ।’ 

ती अधिकारीका अनुसार सिटिजन्स बैंकसँग अझै पनि अन्तरबैंकमा लगानी गर्न सक्ने रकम ३ अर्ब रुपैयाँ रहेको छ । लगानीयोग्य कुल रकम भने ७ अर्ब जति छ । 

के थियो रणनीति ? 
नेपालमा कतिपय वाणिज्य बैंकहरुले ब्याजदरलाई प्रत्येक महिना चलाउने गर्छन् । आफ्नो फाइदा मात्र हेरेर क्षणिक रणनीति अख्तियार गर्छन् । तर, सिटिजन्स बैंक यो वर्ष यस्तो रणनीतितर्फ लागेन । साउन महिनामै पनि धेरै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाए । तर, सिटिजन्सले भने ब्याजदर बढायो । भएको निक्षेप अन्त गएन भने अन्यत्रको निक्षेप समेत यो बैंकमा आयो । 

‘प्रत्येक महिना रेट गिराउने, बढाउने काम भयो । हामी त्यतातर्फ लागेनौं । हामीले क्षणिक फाइदा हेरेनौं ।’ बैंकका अधिकारीले भने–‘रेट बढाएको हुनाले सेभिङ घट्न पाएन, संस्थागत डिपोजिट पनि इन्ट्याक्ट रह्यो । रिर्सोसेज हो, आफूसँग भयो भने लगानी गरेर कमाउन सकिन्छ भन्ने फिलोसोफीबाट हामी गाइडेड भयौं । यसैले आज हामीलाई सजिलो बनाइदियो ।’

अहिले पनि सिटिजन्स बैंकको लिक्वीडिटी रेसियो २६ प्रतिशत छ, सीडी रेसियो पनि ८४ प्रतिशत मात्र छ । यहीकारण धेरैलाई सहयोग गर्न पाएको बैंकका ती अधिकारीले बताए । 

बैंकहरुमा तरलताको हाहाकार भएर कतिपयले ९ प्रतिशतसम्म ब्याजदर मुद्धती निक्षेपमा अफर गर्ने आन्तरिक तयारी गरिरहेको बेला सिटिजन्स भने योपटक चूपचाप बस्ने रणनीतिमा छ । बिहीबार अधिकांश वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नेछन् र अधिकांशको ब्याजदर बढ्ने अनुमान गरिएको छ । ‘तर यो पटक पनि सिटिजन्सले ब्याजदर बढाउँदैन ।’ स्रोतले भन्यो । 

भएको निक्षेप जति लगानी गरेर आफू टाइट अवस्थामा बस्दा धेरै कमाउने सोंच नेपालजस्तो मुलुकको बैंकिङका लागि असान्दर्भिक बन्दै गएको र यो विषयमा बैंकरहरुले घोत्लिनुपर्ने बेला आएको सिटिजन्स बैंकका अधिकारीहरुको अन्यलाई सुझाव छ ।