काठमाण्डौ । पश्चिमा देशमा पाइनएप्पललाई निकै उत्कृष्ट फल मानिन्छ । यो फललाई ती देशहरुमा ‘शाही फल’को संज्ञा समेत दिने गरिन्छ । पाइनएप्पललाई जताततै साधारण रकम तिरेर खरीद गर्न सकिन्छ । तर हामी यहाँ तपाईंलाई जुन पाइनएप्पलको कुरा गरिरहेका छौ, त्यो साधारण होइन । किनभने यसलाई उब्जाउन विशेष टेक्निक र टिमको जरुरत पर्छ । यसको मूल्यले त झन् यसलाई विशेष नै बनाइदिएको छ । 

यस्तो खास पाएनएप्पलको प्रति गोटा मूल्य १६ सय डलरभन्दा बढी छ । यो मूल्य भनेको नेपालमा एउटा गतिलो कारको मूल्य हो । यो विश्वकै सबैभन्दा महंगो पाइनएप्पल हो, यसलाई ब्रिटेनका केही व्यक्तिले मात्र उपभोग गर्छन । यो पाइनएप्पललाई ब्रिटेनका केही व्यक्तिले आफ्नो होमटाउनबाट निकै लामो दूरीमा पुगेर उत्पादन गर्ने गर्छन । जुन ठाउँमा पाइन्छ, त्यहीँ यो फललाई यति धेरै मूल्य पर्दैन । तर यसलाई उत्खनन् गर्ने विशेष तरिका र उब्जाउको विशेष विधिका कारण यसको मूल्य यति धेरै महंगो पर्न गएको हो ।

यो फलको उत्खनन्का लागि भिक्टोरियन समयको टेक्निक प्रयोग गर्ने चलन छ । यहीकारण यो फल ब्रिटेनको अत्यन्त चिसो हावापानीमा समेत हुर्किन पाउँछ । भिक्टोरियन एज त्यसलाई भनिन्छ, जुनबेला ब्रिटेनमा महारानी भिक्टोरियाको शासन थियो । 

यो पाइनएप्पल उत्पादनका लागि घोडाको मल र मूत्रबाट बनेको विशेष प्रकारको मल अनिवार्य हुन्छ । पाइनएप्पल एक ट्रपिकल प्लान्ट हो, जसलाई ब्रिटेनमा सहजै हुर्काउन र बढाउन सकिन्न । तर विशेष मानिसहरुले खास प्रकारले यो फललाई तयार गर्ने गर्छन । यो फललाई तयार गर्न लगातारमा रुपमा घोडाको मल र मूत्रको सिंचाई आवश्यक पर्छ । विशेष किसिमको स्याहार समेत आवश्यक पर्छ । 

यो फललाई इङ्गल्याण्डको लास्ट गार्डेन अफ हेलिगन नजिकैको ग्लास हाउसभित्र तयार गरिन्छ । पाइनएप्पललाई खास किसिमले बनाइएको पिट(विशेष प्रकारको खाल्डो)मा उब्जाइन्छ । यस्तो पिट ४० फिट लम्बाई र ४ फिट गहिराईको हुन्छ । यो पिटमा ३० टन खाद मल हाल्नुपर्छ । रमाइलो कुरा यो छ कि, यो पाइनएप्पलको आकार साधारण पाइनएप्पलको भन्दा कयौं गुणा ठूलो हुन्छ । 

(एजेन्सीको सहयोगमा भावानुवाद)