काठमाण्डौ । नेपाली सेयर बजारका दुई महत्वपूर्ण नियामक नै अनलाइन कारोबार प्रणालीको विषयमा परस्पर विरोधी धारणा सार्वजनिक गरेका छन् ।

बजारको नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली पूर्ण नभई सेमी मात्र भएको बताउँछन् भने फ्रन्टलाइन रेगुलेटर नेप्सेका प्रमुख चन्द्रसिंह साउद चाहि अहिलेको अनलाइन प्रणाली पूर्ण नै रहेको जिकिर गर्छन्।

आज भएको एक कार्यक्रममा यी दुई निकायका प्रमुखहरुले परस्पर विरोधी अभिव्यक्ति सार्वजनिक गरे । 

मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष ढुंगानाले नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण नभई सेमी मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको बताए । 

उनले लकडाउन खुलेको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाईन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे । 

यसका लागि नेप्से र बोर्ड नै लागिपरेको उनको भनाई थियो । 

तर, सोही कार्यक्रममा नेप्से प्रमुख साउदले भने नेप्सेको अनलाईन कारोबार प्रणाली आफैंमा पूर्ण भएको बताउँदै लगानीकर्ताहरु नै यसप्रति आकर्षित नभएकोमा दुःख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए ।

सो कार्यक्रममा बैशाख २५ गतेपछि बजार खुलाउने पक्षमा पनि बोर्ड र नेप्सेको सामान्य द्वन्द्व देखियो । बोर्ड लकडाउनको अवस्था हेरेर मात्र आवश्यक निर्णयमा पुग्नुपर्ने मनस्थितिमा देखियो भने नेप्से चाहि लकडाउन निरन्तर नै भए पनि बजार खुलाउनुपर्ने पक्षमा देखियो । 

बोर्ड अध्यक्ष ढुंगानाले बैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा मात्र थोरै समयको कारोबार गर्ने पक्षमा रहेको बताए । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएको उनले बताएका छन् । 

साउदले भने बैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताए । उनले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिंदै अब वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रही अघि बढेको बताए । 

एउटै प्लेटफर्मममा उपस्थित बजारका दुई महत्वपूर्ण निकायका प्रमुखबाट अनलाइन कारोबार प्रणाली तथा बैशाख २५ गतेपछि बजार खुलाउने विषयका अन्यौल दूर होला भन्ने अपेक्षासहित उनीहरुका कुरा सुनेका लगानीकर्ता चाहि उनीहरुको परस्परविरोधी अभिव्यक्तिले थप अन्यौलमा परेका छन् ।