काठमाण्डौ । ह्वाट्सएपले ठूलो परिवर्तन गरेको छ। 

अब प्रयोगकर्ताले एउटै ह्वाट्सएप ४ वटा फोनमा एकैसाथ प्रयोग गर्न सक्नेछन्। यसअघि ह्वाट्सएप वेबको मद्दतले प्रयोगकर्ताले फोन र पीसी (डेस्कटप) दुवैमा एउटै खाता प्रयोग गर्न सक्थे। तर, अब यो सुविधा फोनमा पनि उपलब्ध हुनेछ।

कम्पनीका अनुसार ह्वाट्सएपको यो फिचर केही हप्तामा सबै प्रयोगकर्तामा पुग्नेछ। केही दिनअघि यो सुविधा ह्वाट्सएप बिटा प्रयोगकर्ताका लागि जारी गरिएको थियो। 

ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले यो नयाँ फिचरका बारेमा जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘अब प्रयोगकर्ताले एकैसाथ चारवटा फोनमा ह्वाट्सएपमा लगइन गर्न सक्नेछन्।’

ह्वाट्सएपको यो नयाँ फिचरमा प्रयोगकर्ताले एकै साथ ४ वटा डिभाइसमा कुनै पनि ह्वाट्सएप अकाउन्टमा लगइन गर्न सक्नेछन्। यी सबै उपकरण स्वतन्त्र रुपमा काम गर्नेछन्। ह्वाट्सएप प्रयोगकर्ताले प्राइमरी डिभाइसमा नेटवर्क नभए पनि अन्य सेकेन्डरी डिभाइसहरुमा ह्वाट्सएप चलाउन सक्नेछन्। 

प्रयोगकर्ताले म्यासेजहरु प्राप्त गर्नदेखि लिएर म्यासेजहरु पठाउन पनि सक्नेछन्। तर, यदि प्रयोगकर्ताको प्राइमरी डिभाइसमा ह्वाट्सएप अकाउन्ट लामो समयसम्म निष्क्रिय रह्यो भने अन्य उपकरणबाट अटोमेटिक रुपमा लग आउट हुनेछ।

यदि ह्वाट्सएप प्रयोगकर्ताले प्राइमरी डिभाइसका साथमा अर्को डिभाइसमा लगइन गर्न चाहन्छ भने सेकेन्डरी डिभाइसको ह्वाट्सएप एपमा गएर फोन नम्बर प्रबिष्ट गर्नुपर्नेछ। त्यसपछि प्राइमरी फोनमा ओटीपी आउनेछ। जुन प्रविष्ट गरेपछि प्रयोगकर्ताले अन्य डिभाइसमा पनि लग इन सक्नेछन्। 

त्यस्तै प्राइमरी डिभाइसमा रहेको कोड स्क्यान गरेर अन्य डिभाइस पनि लिंक गर्न सकिन्छ।

ह्वाट्सएस सन् २००९ मा सुरु भएको थियो। सन् २०१४ मा फेसबुकले १९ बिलियन डलरमा ह्वासट्सएप किनेको थियो। अहिले विश्वभर २०० करोडभन्दा बढी ह्वाट्सएप प्रयोगकर्ता छन्। –एजेन्सी