– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएको झन्डै ६ महिना भइसकेको छ। सार्वजनिक कार्यक्रममा अध्यक्ष हमालले आफूले गरेको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा ‘एओएन व्यवस्था हटाइएको’ पनि उल्लेख गर्ने गरेका छन्। तर, सेबोनले उक्त व्यवस्था हटाउँदा अहिले बजारमा आमलगानीकर्ता भने मर्कामा परेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत असार १६ गते विज्ञप्ति जारी गर्दै सेबोनको निर्देशनमा बिक्रीतर्फ समेत एओएन हटाइएको उल्लेख गरेको थियो। उक्त विज्ञप्तिअनुरुप नै नेप्सेले बिक्रीतर्फ असार १९ बाट एओएन हटाएको थियो। नेप्सेले खरिदतर्फको एओएन भने २०७८ जेठ ३० मा नै हटाएको थियो।

सेबोनको निर्देशनमा नेप्सेले टीएमएसबाट एओएन हटाउँदा लगानीकर्ताको अधिकार हनन भएको भन्दै त्यसबेला उक्त निर्देशनको चर्को आलोचनासमेत भएको थियो। त्यसबेला अधिकांश लगानीकर्तामाझबाट एओएन हटाउनेभन्दा पनि व्यवस्थित गर्नुपर्ने आवाज उठेको थियो। तर, सेबोनले त्यतिबेला लगानीकर्ताको आवाज नसुनेझैँ गर्दा अहिले आमलगानीकर्ता मर्कामा परेका छन्। 

एओएन व्यवस्था हट्दा बजारका ठूला लगानीकर्ताभन्दा साना लगानीकर्ता अहिले मर्कामा परेको जानकारहरु बताउँछन्। 

एओएन व्यवस्था हट्दा अहिले लगानीकर्ताको आंशिक कारोबारमात्र हुने र खातामा १–२ कित्ता सेयर बिक्री नभई बस्ने गरेको छ। अडलटमा पनि सजिलैसँग खरिदकर्ता नभेटिँदा अहिले लगानीकर्ता सामाजिक सञ्जालमा ‘मेरो १ कित्ता सेयर किन्ने कोही छ ?’ भनेर खरिदकर्ता खोज्न बाध्य भएका छन्। 

त्यतिमात्र नभएर अहिले लगानीकर्ताले कुनै कम्पनीको २०० कित्ता सेयर बिक्रीमा राख्दा ४ पटकसम्म कारोबार सम्पन्न हुँदा चर्को ब्रोकर कमिसन तिर्न पनि बाध्य भएका छन्।

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की सेबोनले एओएन पूर्ण रुपमा हटाउनेभन्दा पनि व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरेको बताउँछन्। ‘सुरुमा बिक्रीतर्फको एओएन हटाइएको तर खरिदतर्फको यथावत् राखिएको थियो। त्यसबेला उक्त व्यवस्था अन्याय पूर्ण भएकाले हाम्रो माग कि दुवैतिर राख्नु पर्ने कि दुवैतिरको एओएन हटाउनुपर्ने भन्ने थियो’, कार्की भन्छन्, ‘त्यसैले अहिले दुवैतर्फ एओएन हटेको छ।’

‘तर, लगानीकर्ताहरु अहिले आफूहरुले पाउँदै आएको सेवाबाट वञ्चित भएका छन्’, कार्की भन्छन्, ‘त्यसैले एओएन पूर्ण रुपमा हटाउनेभन्दा पनि लिमिट तोकिदिने काम गर्नुपथ्र्यो, बैंकसँग लिंक गराउनेजस्ता विकल्पहरु अपनाउन सकिन्थ्यो।’

एओएन हटाइएकोले अब सेबोनले लगानीकर्ताले एक दिनभर गरेको कारोबारलाई एउटै कारोबारका रुपमा गणना गरी ब्रोकर कमिसन निर्धारण गर्नुपर्ने व्यवस्था गर्न आवश्यक रहेको कार्कीको भनाइ छ।