काठमाण्डौ । फेसबुकको बिषयमा ज्ञान नहुने यो संसारमा निकै कम व्यक्ति होलान् । तर फेसबुकका मालिक मार्क जुकरबर्ग १२ वर्षअघि अमेरिकाको एक सामान्य होस्टेलका सामान्य छात्र मात्र थिए भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । सायद स्वयम् जुकरबर्गले समेत सोचेका थिएनन् कि उनले फेसबुकमार्फत सामाजिक सञ्जालको दुनियाँमा नयाँ आयाम ल्याउनेछन् र विश्वमै त्यसको एकमात्र निर्विकल्प सूत्रधार हुनेछन् । उनै जुकरबर्गको फेसबुकले अहिले अमेरिकी स्टक एक्सचेञ्ज नेस्डेकमा कमाल गरिरहेको छ । बुधबार उनको कम्पनी फेसबुकको शेयर कारोबारले सर्किट ब्रेक गर्दै शेयर मूल्य शानदार अवस्थामा पुगेको छ । तपाईलाई पत्याउन गाह्रो पर्नसक्छ, नेस्डेकको मात्र एकघण्टाको अवधिमा जुकरबर्गको कुल सम्पत्तिमा ४१ हजार करोड रुपैयाँ थपिएको छ । यसरी मार्क जुकरबर्गको कुल सम्पत्ति बढेर अब ५ लाख ४५ हजार लाख करोड रुपैयाँ(५१ सय ७० करोड डलर)पुगेको छ । 

एकैदिन आर्जित यो सम्पत्ति जोड्दा अब मार्क जुकरबर्ग ओरेकल कम्पनीका सीइओ लेरी इरिसनलाई समेत पछि पार्दै विश्वकै छैठौ नम्बरका अर्बपति बन्न सफल भएका फोब्र्स पत्रिकाले जनाएको छ । 

एकघण्टामै कसरी कमियो ४१ हजार करोड ?


विश्वकै सबैभन्दा ठूलो र वृहत नेटवर्किङ साइट फेसबुकले बुधबार आफ्नो जनवरी–मार्चको पहिलो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गरेको थियो । पहिलो त्रैमासको रिपोर्टले कम्पनीको खूद नाफा ५२ प्रतिशतले वृद्धि भएको देखाएको छ । यो सुखद परिणामपछि कम्पनीको शेयरमा एकघण्टामै ९ प्रतिशतको उछाल देखियो । जसका कारण कम्पनीको बजार मूल्यका साथ मार्क जुकरबर्गको कुल सम्पत्ति मूल्यमा पनि ४१ हजार करोड रुपैयाँ थपियो । 

४ वर्षमा फेसबुकका लगानीकर्ता पनि मालामाल


सन् २०१२ मा फेसबुकले जारी गरेको आइपीओमा यदि कुनै लगानीकर्ताले लगानी गरेका भए अहिले उसको लगानी २७५ प्रतिशतले वृद्धि हुने थियो । कम्पनीको आइपीओ त्यसबेला २५ डलर प्रति शेयर मूल्यमा निश्कासन भएको थियो । तर शेयर सूचिकरण भएको केही महिनापछि फेसबुकको शेयर मूल्य ओरालो लागेर १८ डलरसम्म झरेको थियो । तर बिस्तारै बिस्तारै फेसबुकको लोकप्रियता बढेसँगै फाइदा बढ्न थालेको र ब्राण्ड भ्यालू समेत राम्रो भएपछि अहिले फेसबुकको प्रति शेयर मूल्य १०९ डलर पुगेको छ । यो हिसाबले समेत कम्पनीको शेयरले हाल आएर २७५ प्रतिशतको रिटर्न दिन सफल भएको छ । 

२३ सालमै करोडपति !


जुकरबर्गले एक अन्तर्राष्ट्रिय संचारमाध्यमलाई सन् २०११ मा अन्तर्वार्ता दिंदै भनेका थिए–‘मानिस तपाईको बारेमा के जान्न चाहन्छन् भन्ने सवाल महत्वपूर्ण होइन, तर मुख्य सवाल यो हो कि मानिस आफ्नो बिषयमा के बताउन चाहन्छन ।’ फेसबुक व्यापारलाई लिएर जुकरबर्गले दिएको यो अन्तर्वार्ता अन्तत सही साबित भएको छ, मानिसका लागि आफन्त र साथीभाईसँग राम्रो सम्पर्कमा बस्न वर्तमान अवस्थामा फेसबुक बाहेक उत्तम विकल्प अरु हुनै सक्दैन । फेसबुकको जबरजस्त सफलताकै कारण मार्क जुकरबर्ग सन् २००७ मै अबरपति बनिसकेका थिए । त्यसबेला उनी मात्र २३ वर्षका ठिटा थिए । 

तीन साथी पनि मार्कसँगै थिए


कम्पनीको सीइओ मार्क जुकरबर्ग फेसबुकको एक्ला संस्थापक होइनन् । उनको साथमा उनका सहपाठी एदूयार्दो सेवरिन, डस्टिन मास्कोविट्ज र क्रिस हुगेशको समेत महत्वपूर्ण भूमिका छ । यी छात्रहरुले यो साइटको सुरुवात हावर्ड विश्वविद्यालयका छात्राहरुको सम्पर्क माध्यमका लागि गरेका थिए । विश्वविद्यालयमा यो साइटको लोकप्रियतापछि अन्य कलेजमा समेत यो बिस्तार भएको थियो । हेर्दा हेर्दै यो साइटले विश्वमै जबरजस्त लोकप्रियता हासिल गर्यो । जबसम्म यो साइट सार्वजनिक भएको थिएन, तबसम्म यसको नाम दि फेसबुक डटकम थियो । यो साइटलाई सार्वजनिक गर्नुभन्दाअघि मात्र यसको नाम फेरेर ‘फेसबुक’ बनाइएको हो । 

फेसबुकले जबरजस्त व्यापार गरेपछि जुकरबर्गमाथि अनेकन आरोपहरु पनि लागे । कुनै बेला हावर्ड कनेक्सनका क्रिएटरहरुले उनीमाथि आफूहरुको आइडिया चोरेको आरोप समेत लगाएका थिए, यस बापत जुकरबर्गले क्षतिपूर्ति नै तिर्नुपरेको थियो । यी सारा समस्याका बाबजुद टाइम म्यागजिनले सन् २०१० मा उनलाई बर्ष व्यक्ति घोषित गर्दै विश्वका शक्तिशाली मानिसहरुको सूचिमा ३५ औं नम्बरमा राखेको थियो । त्यसपछि उनको व्यक्तित्व एकाएक चर्चामा आयो र विश्वव्यापी भयो । यसले फेसबुकलाई समेत चम्काइदियो ।