काठमाण्डौ । नेपाली बजारमा पछिल्लो एक महिनाको अवधिमा सुनको भाउ झन्डै ५ हजार रुपैयाँले घटेको छ।

नेपाल सु्नचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार फागुन महिनाभरि सुनको भाउ तोलामै ४ हजार ७०० रुपैयाँले घटेको हो। गत माघ ३० गते तोलाकै ९० हजार ९०० रुपैयाँ रहेको सुनको भाउ फागुन २८ गतेसम्म घटेर ८६ हजार २०० रुपैयाँ सीमित बन्न पुगेको छ। 

त्यसो त यो महिना सुनको भाउ घटेर तोलाको ८५ हजार ६०० रुपैयाँसम्म झरेको थियो। गत फागुन २१ गते र फागुन २५ गते सुनको भाउ घटेर तोलको ८५ हजार ६०० रुपैयाँसम्म झरेको हो। 

गत फागुन २६ र २७ गते पुनः उकालो लागेर सुनको भाउ तोलाको ८६ हजार ८०० रुपैयाँसम्म पुगेको थियो। तर, आज फागुन २८ गते पुनः ६०० रुपैयाँले घटेर प्रतितोला ८६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ७५० रुपैयाँ कायम भएको छ। 

फागुन महिनाभरि चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ। गत माघ ३० गते तोलका १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज फागुन २८ गते तोलाको १ हजार २७० रुपैयाँमा झरेको छ।