काठमाण्डौ । पुँजीबजार चलयमान भएसँगै लगानीकर्ताले सरकारलाई तिर्ने पुँजीगत लाभकर पनि उल्लेख्य रुपमा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमै लगानीकर्ताले ३ अर्ब २४ करोड ६९ लाख ४ हजार ७४२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन्। सरकारले चालु आर्थिक वर्ष पुँजीबजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ता भनेर छुट्याएको फरक–फरक पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ। जसअनुसार अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। 

चालु आर्थिक वर्षको पहिलो महिनामै सवा ३ अर्ब रुपैयाँको हाराहारीमा लगानीकर्ताले सरकारलाई पुँजीगत लाभकर तिरेका छन्। यो हिसाबले यो आर्थिक वर्षमा सेयर लगानीकर्ताबाट सरकारले झन्डै ३९ अर्ब रुपैयाँ पुँजीगत लाभकरबापत रकम उठाउने देखिन्छ। 

गत आर्थिक वर्षमा सरकारले सेयर बजारबाट २४ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकरबापतको रकम उठाएको थियो। 

सीडीएससीका अनुसार साउनमा क्लोजआउटमा परेका लगानीकर्ताबाट ८९ लाख ८८ हजार ८५३ रुपैयाँ प्राप्त भएको छ। लगानीकर्ताले सेयर बेचेर समयमै ईडीआईएस नगर्दा क्लोजआउटबापत जरिवाना तिर्नुपर्छ। 

साउनमा लगानीकर्ताले सेयर खरिदबिक्रीबापतको कमिसनका रुपमा नेप्सेलाई २८ करोड ९८ लाख ७८ हजार ७१५ रुपैयाँ, सीडीएससीलाई ९ करोड ३३ लाख १६ हजार ७१९ रुपैयाँ र सेबोनलाई ७ करोड ९७ लाख ३२ हजार ६७२ रुपैयाँ बुझाएका छन्। सोही अवधिमा सरकारले पुँजीबजारबाट टीडीएसमात्रै २२ करोड ९७ लाख ६३ हजार ६४० रुपैयाँ उठाएको छ।