काठमाण्डौ । बैंकहरुबाट गत साता डिपोजिटमा एकाएक गिरावट आएको छ । अघिल्लो साताको तुलनामा यो साता बैंकहरुमा रहेको डिपोजिट १० अर्बले घटेको हो । आखिर एकाएक यसरी किन घट्यो त डिपोजिट ? एकाएक १० अर्ब रुपैयाँ कहाँ हरायो ? 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबिए)का प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा हालसम्मकै ठूलो साइजको आइपीओमा लगानी गर्ने लहर नै चलेकोले डिपोजिट निकालेर त्यहाँ लगाइएको हुनसक्ने बताउँछन् । ‘नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा)को आइपीओमा धेरैले लगानी गरेका कारण यो साता १० अर्ब हाराहारीको डिपोजिट सो प्रयोजनका लागि खर्च भएको हुनसक्छ ।’ उनले भने–‘डिपोजिट १० अर्बले घट्नु सामान्य कुरा पनि हो, यसमा धेरै अत्तालिनुपर्दैन ।’ निफ्राको आइपीओमा १८ अर्ब रुपैयाँभन्दा बढीको खरीद आवेदन परेको छ । 

एनबिएका अनुसार बैंकहरुमा माघ २ गतेसम्म ३७७९ अर्ब डिपोजिट थियो । तर, माघ ९ मा भने १० अर्बले घटेर १७६९ अर्बमा सीमित बन्न पुग्यो । 

डिपोजिट घटे पनि माघ ९ गतेसम्म कर्जा विस्तार भने बढेको छ । माघ २ गतेसम्म बैंकहरुले ३२३६ अर्ब कर्जा प्रवाह गरेकामा माघ ९ गतेसम्म बढेर ३२४७ अर्ब पुगेको छ । यसरी एकै साता बैंकहरुले ११ अर्ब कर्जा प्रवाह गरेका छन् । 

एनबिएका सीइओ शर्मा विगत ५ वटा आर्थिक वर्षको पुस र माघ महिनामा बिस्तार भएको कर्जाको तुलनात्मक अध्ययन गर्दा यो वर्ष बढिरहेको देखिने बताउँछन् । ‘अघिल्ला ५ वर्षको भन्दा यो वर्ष धेरै कर्जा गइरहेको देखिन्छ ।’ उनले भने–‘डिपोजिट पनि राम्रै आइरहेकोले मात्र अवस्था केही सहज हो, नभए अहिलेसम्म तरलता अभावको समस्या सुरु भइसक्थ्यो ।’ 

साउनदेखि पुससम्मको अवस्था
कोभिड १९ को संक्रमणका कारण समस्याग्रस्त बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले विभिन्न प्याकेज ल्याएसँगै अवस्थामा क्रमशः सुधार हुँदै गएको देखिन्छ । 

एनबिएकाअनुसार साउन ९ गतेसम्म ३४६२ अर्ब निक्षेप बैंकहरुमा रहेकोमा साउन ३० गतेसम्म बढेर ३४७९ अर्ब पुगेको थियो । साउनमा मात्रै बैंकहरुले ११ अर्ब कर्जा लगानी गरेका थिए । 

भदौमा २१ अर्बले निक्षेप बढेको थियो भने २६ अर्बले कर्जा बढेको थियो । 

यस्तै, असोजमा १५९ अर्ब निक्षेप बढेकोमा १३१ अर्ब थप कर्जा बिस्तार भएको थियो । 

कात्तिकमा असोजको तुलनामा ६ अर्बले निक्षेप घटेको थियो भने २९ अर्बले कर्जा बढेको थियो । 

मंसिरमा ३८ अर्बले निक्षेप बढ्दा ४९ अर्ब बढी कर्जा बिस्तार भएको थियो । 

पुसमा भने ८८ अर्बले निक्षेप बढेकोमा १४३ अर्ब बढी कर्जा बिस्तार भएको देखिन्छ ।