काठमाण्डौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ््याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी रहेको पाइएको छ । नेपाल सरकारले खुला नगरे पनि दलालमार्फत भारत हँुदै प्रतिबन्धित इराक पुग्ने त्यहाँका १४२ मध्ये ९८ जना महिला रहेको माइती नेपालले गरेको सर्वक्षणबाट पत्ता लागेको हो ।
प्रमुख रुपमा तामाङ र शेर्पाको बसोवास रहेको उक्त वडाका महिलाको यसअघि प्रमुख गन्तव्य चीनको खासा बजार रहेको थियो । तर २०७२ सालको भूकम्पबाट तातोपानी नाका बन्द भएपछि उनीहरुको लागि खाडीलगायतका मुलुक प्रमुख गन्तव्य बनेको माइती नेपालका जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिनुभयो ।
 
इराकमा काम गर्दा अमेरिकी डलरमा राम्रो कमाइ हुने र युरोप तथा अमेरिका जान सहज हुने भएकाले दलालमार्फत भारत भएर नेपाली जाने गरेको वडाध्यक्ष सुपा लामाले बताउनुभयो । पालिकामा निर्वाचित भएर आएपछि श्रम स्वीकृति पाएका देशमा रोजगारीमा जाने व्यक्तिले अनिवार्य वडा कार्यालयमा सल्लाह लिन आउनुपर्ने र त्यसबापत प्रतिव्यक्ति रु १०००÷दिने निर्णय गरे पनि कोही नआएको हुँदा ०७४÷७५ मा विनियोजीत रकम दुई लाख बजेट ‘फ्रिज’ भएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार त्यहाँका थुप्रै युवायुवती रोजगारीको सिलसिलामा इराकका साथै कुवेत, अष्ट्रेलिया, जापान र अमेरिकामा रहेका छन् । विदेश जान राहदानी लिनेमध्ये ४० प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कबाट देखिन्छ । 
विगतका वर्षमा देशका विभिन्न भागबाट चीनको खासामा मानव तस्करीमा वृद्धि हुन थालेपछि रोकथामको लागि तातोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको थियो । भूकम्पबाट लामो समयसम्म नाका बन्द भएपछि नाकाबाट हुने सबै काम अरनीको राजमार्गको बन्देउमा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको छ । बन्द भएको पाँच वर्षपछि नाका सञ्चालनमा आए पनि चीनले सर्वसाधारणलाई खासा प्रवेशमा कडाइ गरेपछि  माइती नेपालले आफ्नो कार्यालय सन् २०२० को पहिलो दिनबाट बन्द गरिएको संयोजक घिमिरेले बताउनुभयो ।