काठमाण्डौ । कोभिड महामारीकै कारण अहिले विश्वभर खोप अभियान चलिरहेको छ। कसैले खोपको पहिलो त कसैले दुवै मात्र लिइसकेका छन्। कोही बुस्टर डोज लगाइरहेका छन्। 

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि अहिले खोपको माग झनै बढेको छ। विशेषज्ञहरुले खोप नै कोभिडबाट बचाउने एकमात्र अस्त्र रहेको बताइरहेका छन्। 

न्युजिल्यान्डबाट भने एउटा यस्तो घटना घटेको छ, जसले सबैको ध्यान तानेको छ। त्यहाँका एक युवकले २४ घन्टाभित्रै कोभिडविरुद्धको खोपको १० मात्रा लगाएका छन्। 

स्थानीय मिडियाहरुका अनुसार ती व्यक्तिलाई हरेक खोप लगाएबापत पैसा दिइएको थियो। पैसा पाउनकै लागि उनले विभिन्न खोप केन्द्रमा गएर खोप लगाएका थिए। 

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले पनि यसबारे पुष्टि गरेको छ। मन्त्रालयका अधिकारीहरुले यसबारेमा गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएका छन्। 

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयको भ्याक्सिन प्रोग्राम टिमका प्रबन्धक एस्ट्रिड कोर्ननिफले यो निकै चिन्ताजनक विषय बनेको प्रतिक्रिया दिए। ‘हामीले हरेक खोप केन्द्रमा सम्पर्क गरिरहेका छौँ, यदि कुनै पनि पनि खोप केन्द्रमा खोपको अधिक मात्रा लिएका व्यक्ति आएमा जानकारी गराउन भनेका छौँ’, उनले भने।

मन्त्रालयले यो घटना कुन सहर वा ठाउँमा भएको हो भन्नेबारे खुलाएको छैन। त्यहाँका विशेषज्ञहरुले एकैदिन यति धेरै खोपको मात्रा लगाएको विषयमा अहिलेसम्म कुनै घटना बाहिर नआउको बताएका छन्।

अकल्यान्ड युनिभर्सिटीकी प्रोफेसर निक्कली टर्नरले कोभिड खोपको अधिक मात्रा लिनु स्वास्थ्यका लागि हानिकारक हुने बताइन्। ‘निश्चित रुपमा यो सुरक्षित छैन, ती व्यक्तिले आफ्नै स्वास्थ्यमा जोखिम बढाएका छन्’, उनले भनिन्, ‘यद्यपि अहिलेसम्म कोभिड खोपको अधिक मात्रा लिँदा कस्तो असर पर्छ भन्नेबारे कुनै जानकारी उपलब्ध छैन।’ – एजेन्सी