काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । 

छापावाला सुन प्रतितोला सोमबार एकैदिन १ हजार ५०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । बजारमा सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको ऐतिहासिक भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएको नेपाली बजारमा यसको प्रभाव पर्दै गएको महासंघको भनाइ छ । 

छापावाला सुनको मूल्य आइतबार प्रतितोला ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि छापावाला सुनको मूल्यमा एकै दिन ५०० रुपैयाँ बढेको थियो । गत शुक्रबार छापावाला सुन प्रतितोला ६५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

सुनको भाउ अझै बढ्न सक्ने महासंघको अनुमान छ । नेपाली बजारमा सोमबार तेजावी सुन भने प्रतितोला ६७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । 

सुनको भाउ बढेसँगै बजारमा सुन किन्नेभन्दा बेच्नेको चाप बढेको सुन कारोबारीहरु बताउँछन् ।