काठमाण्डौ । संक्रमणदर ११ प्रतिशत माथि पुगेसँगै नेपालमा कोरोना संक्रमितको संख्या धेरै समयपछि ह्वात्तै बढेको छ । 

गत २४ घण्टामा नेपालमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा १३ संक्रमितको मृत्यु भएको छ । एकैदिन ५५९ व्यक्ति संक्रमित हुनु र १३ जनाको मृत्यु हुने अवस्था आउनुलाई खतराको संकेतको रुपमा लिइएको छ । 

सरकारले गत २४ घण्टामा ४३७८ जनाको पीसीआर परीक्षण र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा कुल ५५९ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डौका १५९ जना रहेका छन् । यस्तै, ललितपुरका ४४ जना, बाँकेका ४१ जनामा समेत संक्रमण पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा १३८ संक्रमित निको भएर घर फर्किएका छन् । 

सोमबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । यसमध्ये २ लाख ७४ हजार १६५ निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ । 

कुल मृतकको संख्या ३ हजार ५३ पुगेको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुने दर बढेर १.०९ प्रतिशत पुगिसकेको छ ।