काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार एकैदिन ६ अर्ब ३० करोड रुपैयाँ बराबरका शेयर सूचीकृत भएको छन् । विभिन्न कम्पनीले वितरण गरेका बोनस र हकप्रदवापत् कूल ६ करोड ३० लाख ५२ हजार १ सय ३१ कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जानकारी दिएको छ ।
 
साना किसान माइक्रोफाइनान्सले जारी गरेको २४.२२ प्रतिशत हकप्रदवापत् ८५ हजार कित्ता शेयर सूचीकृत गरेको छ । विजय लघुवित्त १० प्रतिशत बोनसवापत् १ लाख ६१ हजार शेयर सूचीकृत गरेको हो भने सांग्रिला विकास बैंक ८० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको छ । बैंकले १ करोड ८ लाख ६७ हजार ७ सय ९८ कित्ता शेयर सूचीकृत गरेको हो ।
 
यसैगरी नेपाल एसबीआइ बैंकले १ करोड ७ लाख ६९ हजार १ सय ७६ कित्ता शेयर सूचीकृत गराएको छ । बैंकले १५ दशमलव ४२ प्रतिशत बोनसका प्रदान गरी सो शेयर सूचीकृत गरेको हो । गण्डकी विकास बैंकका ४६ लाख ९ हजार ८ सय १५ कित्ता शेयर सूचीकृत गरेको छ । हकप्रद शेयरवापत् सो शेयर सूचीकृत गराएको बैंकले २५ प्रतिशत हकप्रद जारी गरेको थियो । मिसन विकास बैंक २० प्रतिशत बोनसमार्फत् हुन आउने ८ लाख ६५ हजार ४ सय ६७  कित्ता शेयर सोही दिन सूचीकृत गराएको छ ।
 
एभरेष्ट बैंकले १ करोड ९९ लाख १६ हजार २ सय ७७ कित्ता शेयर सूचीकृत गराएको छ । बैंकले जारी गरेको ३३ प्रतिशत बोनसवापत् कायम हुन आएका उक्त शेयर सूचीकृत गराएको हो । यसैगरी सिन्धु विकास बैंकका १५ लाख ६२ हजार २ सय ३८ कित्ता शेयर सूचीकृत भएका छन्  । बैंकले ८० प्रतिशत हकप्रदका लागि उक्त शेयर सूचीकृत गराएको हो । २० प्रतिशत बोनसमा प्रदान गरेको कृषि विकास बैंकका १ करोड ४१ लाख ७५ हजार ३ सय ६० कित्ता शयर सूचीकृत भएका छन् । 
 
यसैगरी नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ४० हजार कित्ता शेयर सूचीकृत गराएको छ । लघुवित्तले प्रदान गरेका २० प्रतिशत बोनस शेयर जारी गरेको थियो । १२ दशमलव ३३ प्रतिशत बोनस ५ लाख ५५ हजार ५ सय कित्ता शेयर कञ्चन विकास बैंकले नेप्सेमा सूचीकृत गराएको छ । यसरी कुल ६ करोड ३० लाख ५२ हजार १ सय ३१ कित्ता शेयर एकैदिन सूचीकृत भएका हुन् । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म गरेका प्रगति विवरण सार्वजनिक गर्न थालेपछि बढ्दो क्रममा रहेको शेयर बजारमा एकैपटक ठूलो संख्यामा शेयर थपिएका हुन् । यसले माग र आपूर्तिबीचको सन्तुलन प्रभाव पर्न सक्ने विश्लेषण गर्न थालिएकाे छ ।