काठमाण्डौ । सेयर बजारमा आकर्षण झन बढ्दै पाइएको छ।

कोभिड महामारीका कारण लगानीका अन्य क्षेत्र शिथिल बन्दा सेयर बजारमा भने चकम आएको छ। केही दिनयता बजार ओरालो लागिरहे पनि लगानीकर्ताको आकर्षण भने घटेको देखिँदैन। 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै सवा ३ लाख बढी लगानीकर्ता सेयर बजारमा थपिएका छन्। 

सीडीएससीका अनुसार साउनमा मात्रै ३ लाख २५ हजार ६८६ जनाले डिम्याट खाता खोलेका छन्। यो संख्याले सेयर बजारप्रति आकर्षण र विश्वास बढ्दै गएको प्रस्ट हुने सीडीएससीका एक अधिकारीले बताए। 

हालसम्म डिम्याट खाताको संख्या ४२ लाख २२ हजार २२५ पुगेको सीडीएससीले जनाएको छ। 

अधिकांशले आईपीओ भर्नकै डिम्याट खाता खोल्ने गरेका छन्। केहीले भने बजारमा सक्रिय कारोबार गर्नकै लागि डिम्याट खाता खोल्ने गरेका छन्। डिम्याट खाता नभईकन प्राथमिक सेयर (आईपीओ) भर्न र दोस्रो बजारमा सेयर किनबेच गर्न पाइँदैन। 

यसैगरी साउनमा मात्रै ‘मेरो सेयर’ लिनेको संख्या ३ लाख २१ हजार ७२१ रहेको छ। मेरो सेयर लिनेको कुल संख्या पनि ३३ लाख ३० हजार २३ पुगेको छ।