काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही मंसिर २९ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ। 

बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७.२००४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतमा १० ले भाग जाने संख्यामा बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालय तथा शाखाहरु पुतलीसडक, लगनखेल, चिप्लेढुंगा (पोखरा), ट्राफिकचोक (बुटवल), वीरगन्ज र गोल्छाचोक (विराटनगर) पेस गर्न सकिनेछ। नेपाल इन्भेस्टमेन्ट बैंकका शाखाहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीमा पनि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस ७ गते बैंकिङ समयसम्म तोकिएको छ।