काठमाण्डौ । बोनस सेयरका लागि कञ्चन डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यी तीनै वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रतिकित्ता कञ्चन डेभलपमेन्ट बैंकको २१६.३६ रुपैयाँ, आईसीएफसी फाइनान्सको १५२.३८ रुपैयाँ र मञ्जुश्री फाइनान्सको १३९.५६ रुपैयाँ कायम भएको छ । अब समायोजित मूल्यअनुसार नै यी तीनै संस्थाको कारोबार खुल्नेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट कञ्चन डेभलपमेन्ट बैंकले १० प्रतिशत,  आईसीएफसीले ५ प्रतिशत र मञ्जुश्रीले १.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् ।

कञ्चन डेभलपमेन्ट बैंकले यही पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा वार्षिक साधारणसभा गर्दैछ ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५३ करोड १३ लाख रुपैयाँको कुल १७ प्रतिशतले हुन आउने ९ करोड ३ लाख २१ हजार रुपैयाँबराबरको लाभांश पारित हुनेछ ।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ३१ लाख ३० हजार रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने ३ करोड ७१ लाख ९१ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ।

यसैगरी आईसीएफसी फाइनान्सले आफ्नो १६ औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौको टंगालस्थित सीएमडी फुडल्यान्डमा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरिएको कुल १३ प्रतिशत लाभांश पारित हुनेछ । संस्थाले चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै संस्थाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ ।

यस्तै मञ्जुश्री फाइनान्सको १२ औँ वार्षिक साधारणसभा  पुस २९ गते नै हुँदैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रसताव गरेको कुल ११.५५ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९.८० प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ९७ हजार ९००.५८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र १.७५ प्रतिशतले हुन आउने १ करोड ४० लाख ७१ हजार ०५३।६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि यी तीनवटै वित्तीय संस्थाले आजदेखि बुक क्लोज गरेका छन् । यसको मतलब हिजो पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।