काठमाण्डौ । पछिल्लो एक सातामा राष्ट्रियस्तरका विकास बैंकको व्यापार विस्तार आक्रामक देखिएको छ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको गत भदौ २६ गतेदेखि असोज १ गतेसम्मको तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ। यो अवधिमा विकास बैंकहरुको निक्षेप ०.५९ प्रतिशत र कर्जा लगानी १.४६ प्रतिशतले बढेको छ।

तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले एक सातामै २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। योसँगै कुल निक्षेप ४ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। भदौ २५ गतेसम्म राष्ट्रियस्तरका विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी विकास बैंकहरुले एक सातामै ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै कुल कर्जा लगानी ३ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। भदौ २५ गतेसम्म भने विकास बैंकहरुको कुल कर्जा लगानी ३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो।