काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको आज सम्पन्न चौथो वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ। 

कम्पनीका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा भएको सभाले कम्पनीको हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको हो।

सभामा कम्पनीको आव २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ। 

अन्त्यमा सभाका अध्यक्षले कम्पनीले आगामी दिनमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पहुँच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजीबजारको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दिलाएको छ।