काठमाण्डौ । एनआइसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् । 

बैंकको जेठ ८ गते बसेको सञ्चालक समितिको ५४५ औं बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीलाई बढुवा गरी नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६\०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

राठी २०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका थिए । उनी विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । 

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले डेपुटी सीइओ बनाइएको बैंकले जनाएको छ । 

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको कार्यानुभव सँगालिसकेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।