काठमाण्डौ। एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने एनआईबिएल समृद्धि फन्ड–२ मा मागभन्दा ५० प्रतिशत इकाइ खरिदका लािग आवेदन परेको छ। 

यो फन्डमा हिजो बिहीबारसम्म आवेदन दिन समय रहेको थियो। यस योजनाअन्तर्गतको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ गत सोमबारबाट बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोद्ध प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी ९ करोड ६० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न भनिएको थियो। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो फन्डमा ६७ हजार ७७ आवेदकबाट १५ करोड ६३ लाख २२ हजार १९० इकाइ खरिदका लागि आवेदन परेको छ। जुन सर्वसाधारणका निष्कासन गरिएको कुल इकाइको ५० प्रतिशत बढी हो। 

हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणले उल्लेखनीय सहभागिता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न यो फन्डमा परेको आवेदनले पनि पुष्टि गरेको क्यापिटलले जनाएको छ। 

यस योजनामा लगानीकर्ताले सहभागिता जनाई साथ र सहयोग गरेका कारण भोलिका दिनमा अझै बढी सशक्त र सबल रुपमा अगाडि बढ्ने हौसला मिलेको क्यापिटलले जनाएको छ। यस योजनामा सम्पूर्ण लगानीकर्ताको उत्साहजनक सहभागिताका लागि क्यापिटलले धन्यवाद पनि ज्ञापन गरेको छ।