काठमाण्डौ । गत आर्थिक वर्षका लागि घोषित एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन सुरु गरिएको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार हिजो भदौ ९ गतेबाट यस योजनाको ५० प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा अद्यावधिक गराएका इकाइधनीहरुको बैंक खाता नम्बरमा पठाउन सुरु गरिएको छ। हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाइधनीहरुलाई आफ्नो हितग्राहीमा आफ्नो बैंक खाता नम्बर अद्यावधिक गराउन पनि क्यापिटलले आग्रह गरेको छ। 

यसैगरी आफ्नो इकाइ धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका इकाइधनीहरुको प्रतिफल (नगद लाभांश) सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र प्राप्त भएपश्चातमात्र बैंक खातामा जम्मा गरिने पनि क्यापिटलले जनाएको छ। 

यस योजनाको बुक क्लोज भएको मितिसम्म खरिद भएका इकाइहरु हालसम्म पनि ब्रोकरको पुल अकाउन्टमा रही इकाइधनीहरुको हितग्राही खातामा जम्मा नभएको हकमा यथाशीघ्र आआफ्नो ब्रोकरसँग सम्पर्क गरी आफ्नो हितग्राही खातामा इकाइ जम्मा गराउनसमेत एनआईबिएल एस क्यापिटलले आग्रह गरेको छ।