काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडबीच संस्थागत परामर्श सेवाअन्तर्गत ‘रोडम्याप फर आईपीओ’ सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा सिंकोस हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक सूर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन्। उक्त समारोहमा एनआईबिएल एस क्यापिटलका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवनराज पन्तको पनि उपस्थिति थियो।

सिंकोस हाइड्रोपावरले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्यसहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ। यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ। यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने तयारीका कार्यहरु गरी रहेको छ।

उक्त सम्झौताअन्तर्गत एनआइबिएल एस क्यापिटलले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण सेयर निष्कासनपूर्व र निष्कासनको अवधिमा संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, पुँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्न र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ। 

पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्वतयारीसम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्कासन गर्ने सिलसिलामा निष्कासन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरुसमेत प्रदान गर्नेछ।

एनआईबिएल एसले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने तथा ऋण व्यवस्थापनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।