काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेसनल बायोटेक प्रालिबीच सस्ंथागत परामर्श सेवाअन्तर्गत रोडम्याप फर आईपीओ सम्झौतामा भएको छ। 

सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा नेसनल बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन्। 

सम्झौता हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटलका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवनराज पन्त तथा नेशनल बायोटेकका तर्फबाट अध्यक्ष श्यामविक्रम सिजापतिको पनि उपस्थिति थियो।

नेसनल बायोटेक कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई काठमाण्डौमा सञ्चालन भइरहेको छ। यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो। जसले उच्च गुणस्तरको जैविक मल दानेदार रुपमा उत्पादन गर्छ। 

यो कम्पनीको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा बिक्रेता छन्। कम्पनीले आफ्ना ग्राहकलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मल प्रदान गर्दै आइरहेको छ।

अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताको सहयोगमा यस कम्पनीले विभिन्न दायरा र मोडेलहरुमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरु उत्पादन गर्न सक्षम रहेको छ।

उक्त सम्झौताअन्तगर्त एनआईबिएल एस क्यापिटलले नेसनल बायोटेकलाई सर्वसाधारण सेयर निष्कासनपूर्व कम्पनीले गर्नुपर्ने पूर्वतयारीसम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ। जसअन्तर्गत एनआईबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पुँजी संरचनामा आवश्यक परामर्श दिने, निष्कासन प्रक्रिया, आकार र मूल्य निर्धारणमा परामर्श दिने र सेयर निष्कासनपूर्व कम्पनीलाई चाहिने आवश्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्नेछ। 

सर्वसाधारणमा सेयर निष्कासन गर्ने सिलसिलामा निष्कासन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरुसमेत प्रदान गर्नेछ।

एनआईबिएल एसले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।