काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ का इकाइहरुको सार्वजनिक निष्कासन भएको पहिलो दिन सोमबार नै ४ करोड बढी इकाइका लागि खरिदका लागि​ आवेदन परेको छ। 

यस योजनाअन्तर्गतको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ हिजो सोमबारबाट बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोद्ध प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी ९ करोड ६० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ः१० बजेसम्म कुल ११ हजार ९२० आवेदकबाट ४ करोड १ लाख २४ हजार ३९० इकाइ खरिदका लागि आवेदन परेको छ। यो कुल ४० करोड १२ लाख ४३ हजार ९०० रुपैयाँबराबरको खरिद आवेदन हो। 

हिजोसम्मको कुल आवेदनमध्ये ५० आवेदकबाट परेको ४४ हजार ३० इकाइ खरिद आवेदन बदर गरिएको छ। 

त्यस्तै कुल आवेदनमध्ये ८५७ आवेदकबाट परेको २७ लाख २० हजार ८० इकाइ खरिद आवेदन प्रमाणीकरण भएको भने ११ हजार १३ आवेदकबाट परेको ३ करोड ७३ लाख ६० हजार २८० इकाइ खरिद आवेदनको प्रमाणीकरण गर्न बाँकी रहेको क्यापिटलले जनाएको छ। 

यस सार्वज्निक निष्कासनमा लगानीकर्ताले न्यूनतम १०० इकाइ तथा अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले काठमाण्डौ लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालय वा काठमाण्डौको दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखमा कार्यालयहरुमा दरखास्त पेस गर्न सक्नेछन्। 

यस योजनाका इकाइहरुको बिक्री बन्द छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डले बन्दमुखी १० वर्षे यो योजना सञ्चालनका लागि गत वैशाख २ गते अनुमति दिएको थियो।