काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ का इकाइहरुको सार्वजनिक निष्कासन भएको दोस्रो दिन मंगलबार साँझसम्म ८७ प्रतिशत बढी इकाइ खरिदका लागि आवेदन परेको छ। 

यस योजनाअन्तर्गतको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ गत सोमबारबाट बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोद्ध प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी ९ करोड ६० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलबार साँझ ५ः२० बजेसम्म कुल २९ हजार ८४६ आवेदकबाट ८ करोड ५ लाख ८७ हजार ४० इकाइ खरिदका लागि आवेदन परेको छ। यो कुल ८० करोड ५८ लाख ७० हजार ४०० रुपैयाँबराबरको खरिद आवेदन हो। 

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ तथा अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले काठमाण्डौ लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालय वा काठमाण्डौको दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखमा कार्यालयहरुमा दरखास्त पेस गर्न सक्नेछन्। 

यस योजनाका इकाइहरुको बिक्री बन्द छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डले बन्दमुखी १० वर्षे यो योजना सञ्चालनका लागि गत वैशाख २ गते अनुमति दिएको थियो।