काठमाण्डौ । नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीको वार्षिक साधारणसभा आउँदो असोज १३ गते कम्पनीकै सभाहलमा हुनेछ ।

साधारणसभाले कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसअनुसार कम्पनीले चुक्तापुँजी २७ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ५ करोड ४० लाख रुपैयाँ (करसहित) वितरण गर्नेछ ।

त्यस्तै साधारणसभाले विशेष प्रस्तावका रुपमा राखिएको कम्पनीले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत खर्च गरिएको अनुदान/दान रकम २ लाख ९९ हजार रुपैयाँ पारित गर्नेछ ।

यसैगरी सञ्चालक समितिले तयार पारेको गत आर्थिक वर्षको प्रतिवेदन पनि साधारणसभाबाट पारित हुनेछ ।