काठमाण्डौ । एनआईबीएल सहभागिता फन्डमा सहभागी इकाइधनीहरुले प्राप्त गर्ने लाभांशबराबरको रकमबाट थप इकाइ खरिद गर्न पाउने भएका छन्।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबीएल एस क्यापिट लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो खुलामुखी फन्डमा ‘लाभांश पुनः लगानी योजना’ ल्याइएको हो। यो योजनाअन्तर्गत इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शुल्क कट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाइहरु खरिद गर्न सक्ने सुविधा दिइएको छ। 

चालु आर्थिक वर्ष वा आगामी वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुनः लगानी योजनाअन्तर्गत नाम दर्ता गराउने इकाइधनीहरुमात्र यो सुविधाका लागि योग्य मानिने क्यापिटलले जनाएको छ। 

यो योजनामा सहभागी हुन इकाइधनीहरुले क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरुमार्फत तोकिएबमोजिमको फाराम भरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्। यसैगरी क्यापिटलको वेबसाइटमा खोली त्यहाँ उपलब्ध डेभिडेन्ट रि–इन्भेस्टमेन्ट बटनमा क्लिक गरी अनलाइन लाभांश पुनः लगानी योजना दर्ता फाराममार्फत पनि आफ्नो नाम दर्ता गराउन सकिने क्यापिटलले जनाएको छ। 

इकाइधनीहरुले आफ्नो पूरा नाम, हिग्राही खाता र सम्पर्क नम्बर उल्लेख गरी विषयमा ‘डेभिडेन्ट रि–इन्भेस्टमेन्ट’ क्यापिटलको drep.mutualfund@niblcapital.com मा पठाएर पनि योजनामा सहभागी हुन सक्नेछन्।