काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा सिटीटेक ग्रुपका कर्मचारीहरुले लगानी सम्झौता भएको छ। 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रवर्द्धित एनआईबिएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा  डिपोजटरी रहेको एनआईबिएल एस क्यापिटल र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पीओएस, ब्लकचेनजस्ता सेवाहरु सञ्चालन गर्दै आइरहेको सिटीटेक ग्रुपबीच लगानी सम्झौता भएको हो। सम्झौताअनुसार एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा ‘कर्पोरेट पेरोल एआईपी’मार्फत उक्त कम्पनीका कर्मचारीले लगानी गर्नेछन्। 

यस योजनाअन्तर्गत सिटिटेक ग्रुपका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागिता फन्डमा व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत लगानी गर्न सक्नेछन्। 

सम्झौतामा सिटीटेक ग्रुपका तर्फबाट कम्पनीका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज हस्ताक्षर गरेका छन्।