काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको आज आइतबार सम्पन्न २३ औँ वार्षिक साधारणसभा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गरेको छ।

काठमाण्डौको थापाथलीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर (रु. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। यो बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी रु. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ पुगेको छ।

सभाले आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो।