काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले ६ कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबारदेखि लिलामीमा राखेको छ।

बैंकले नागरिक लगानी कोषसहित ३ लघुवित्त र दुई जीवन बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १५ लाख ७९ हजार २७९ कित्ता सेयर लिलामीमा राखेको छ। बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ३६ हजार ३६१ कित्ता, माहुली सामुदायिक लघुवित्तको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर लिलामीमा राखेको छ। 

त्यस्तै नागरिक लगानी कोषमा रहेको २ लाख २ हजार ५६० कित्ता, नेसन लाइफ इन्स्योरेन्समा रहेको ९४ हजार ८६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्समा रहेको १ लाख ८५ हजार ६९४ कित्ता सेयर पनि लिलामीमा राखेको छ।

लिलामीमा राखिएका आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ, माहुल सामुदायिक लघुवित्तको ८१२ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ४६३ रुपैयाँ, नागरिक लगानी कोषको १ हजार ३८४ रुपैयाँ, नेसनल लाइफको ४८२ रुपैयाँ र सूर्या लाइफको ३६५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा राखिएको सेयरमा इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र काठमाण्डौको बबरमहलस्थित क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु क्रमशः विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ। 

लगानीकर्ताहरुले आरएमडीसी, माहुली सामुदायिक र मेरो माइक्राफाइनान्सको लिलामी सेयरमा आउँदो फागुन १२ गतेसम्म र नागरिक लगानी कोष, नेसनल लाइफ तथा सूर्या लाइफको लिलामी सेयरमा यही माघ १६ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।