काठमाण्डौ । तीन कम्पनीमा रहेको आफ्नो स्वामित्वका झन्डै साढे ४ लाख कित्ता संस्थापक सेयर एनआईसी एसिया बैंक लिमिटेडले आज मंगलबारबाट लिलामीमा राखेको छ।

एनआईसी एसिया बैंकले नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका आफ्नो स्वामित्वका ४ लाख ४८ हजार ६७० कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। 

लिलामीमा राखिएको सेयरहरुमा इच्छुक प्रचलित कानुनबमोजिम योग्य जोसुकै लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ। लगानीकर्ताहरुले यी सबै कम्पनीका सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको नागरिक लगानी कोषको सेयरको न्यूनतम प्रतिकित्ता १ हजार ६२३, नेसनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ५३० रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ३९७ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा माथि बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय, काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा एनआईसी एसिया बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतको वीरेन्द्रचोकमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २६ गते बैंकिङ समयसम्म रहेको छ।