काठमाण्डौ । नवीनतम सेवा तथा सुविधासहित गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिनेसम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो। भिजा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलरबराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन्। 

कार्ड प्राप्त गर्नका लागि ग्राहकको केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ। यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ। उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरेको छ। 

ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५०० डलरबराबर सटही गरी कार्डमा लोड गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। २२ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद छन्। 

उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ६५ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।