काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आउँदो असार ६ बाट निष्कासन हुने भएको छ।

बैंकले १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरिनेछ।

कुल निष्कासन गरिने इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। ऋणपत्रको निष्कासन छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

धितोपत्र निष्कास तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते निष्कासनको अनुमति दिएको थियो। यस ऋणपत्रमा लगानीकर्ताहरुले ८.५ प्रतिशत वार्षिक रुपमा ब्याज पाउनेछन्।