काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकले यही भदौ १६ देखि आउँदो कात्तिक १४ सम्म लागू हुने गरी यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्।

सेल्फ हेल्प बैंकिङको अवधारणाअनुरुप एनआईसी एशियाको मोबाइल बैंकिङ एपमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ। 

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा एनआईसी एशियाको मोबाइल बैंकिङ एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबाइल बैंकिङ एपभित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्। यस माध्यमबाट पठाएको रकम देशभर रहेका एनआईसी एशिया बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरुका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरुबाट नगद रकम सहजै झिक्न सकिनेछ। 

कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा ग्राहकको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दूरी कायम गर्नसमेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।