काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको एनआईसी एशिया बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक रहेका छन्। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रु. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रु. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ। यसका साथै निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रु. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रु. २९९.३४ अर्ब पुर्याउन बैंक सफल भएको छ। 

बैंकले समीक्षा अवधिमा खुद मुनाफातर्फ रु. २.४० अर्ब आर्जन गर्न सफल भएकोे छ। जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो। 

यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ। जुन २७ वटै बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। 

यसका साथै बैंकले वार्षिक प्रतिसेयर आम्दानी रु. ४१.४३ आर्जन गर्न सफल भएको छ। जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। 

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्किय कर्जा (एनपीए) लाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

बैंकले समीक्षा अवधिमा ५ लाखभन्दा बढी नयाँ खाता थप गर्दै ३३ लाखभन्दा बढी खातामार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरुभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ। 

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरुमा अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरुमध्ये पहिलो स्थान (प्रतिसेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो। 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ।