काठमाण्डौ । एनआईसी एसिया क्यापिटलले चालु आर्थिक २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

पछिल्लो समयमा मर्चेन्ट बैंकिङ व्यवसायमा बढ्दै गइरहेको तीव्र प्रतिस्पर्धा, बजारमा चरम तरलता संकट, कोरोना महामारीबाट सिर्जना भएको चुनौती तथा देशको समग्र आर्थिक सूचकहरु नकारात्मक हुँदै गइरहेको अवस्थामा पनि एनआईसी एसिया क्यापिटलले यो नौ महिनाको अवधिमा ८ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। 

समीक्षा अवधिसम्म कम्पनीले प्रतिसेयर आम्दानी (ईपीएस) ५९.४६ रुपैयाँ कायम गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बढी हो। 

समीक्षा अवधिसम्म क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ४ वटा योजना सञ्चालन गरिरहेको छ। जसअन्तर्गत तीनवटा बन्दमुखी योजना एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) तथा एउटा खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालन गरिरहेको छ। पाँचौँ रु.१ अर्बबराबरको बन्दमुखी योजना एनआईसी एसिया फेलेक्सी क्याप फन्ड नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ। 

एनआईसी एसिया ग्रोथ फन्ड तथा एनआईसी एसिया ब्यालेन्सड् फन्डले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ। ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ। 

पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ। उक्त लाभांश वितरणपश्चात समेत चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यमा एनआईसी एसिया ग्रोथ फन्डको खुद सम्पत्ति मूल्य (न्याभ) रु. १४.०५, एनआईसी एसिया ब्यालेन्सड् फन्डको न्याभरु. १३.१६ तथा पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको न्याभरु. १०.८९ कायम गर्न सफल भएको छ। 

तेस्रो बन्दमुखी योजना एनआईसी एसिया सेलेक्ट ३० इन्डेक्स फन्डको बाँडफाँड भएको पहिलो ९ महिनामा न्याभ रु. ९.९९ कायम रहेको छ। 

लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु सञ्चालन गरीे चालु आवको तेस्रो त्रैमाससम्म ५५३ जना ग्राहकबाट रु. १ अर्ब ५३ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३३.०२ प्रतिशतले वृद्धि छ। 

क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत Income Guaranteed Fund, Priority Services जस्ता विशेष योजना सञ्चालन गरिरहेको छ। जुन सेवा अनलाइनमार्फत समेत लिन सकिन्छ। 

क्यापिटलले निक्षेप सदस्य सेवाअन्तर्गत देशको सम्पूर्ण भूभागमा बसोबास गर्ने आम जनतामाँझ डिम्याट खाताको पहुच सहज, सर्वसुलभ तरिकाबाट पुर्याउने मुख्य उद्देश्यका साथ विगतका वर्षदेखि नै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरिरहेको छ। क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनतामाँझ पुर्याउन एनआईसी एसिया बैंकका देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालय तथा विस्तारित काउन्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भइरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ। 

क्यापिटलले २०७८ साल चैत मसान्तसम्म ५ लाख ७५ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ। क्यापिटलले समग्र बजारको ११.१५ प्रतिशत हिस्सा ओगटन सफल भएको छ। 

हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको साथै, ४ वर्षको नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नवीकरण हुने, रु. २ हजार ५०० एकमुष्ट भुक्तानी गर्दा लाइफटाइम डिम्याट खाता नवीकरण हुने, एनआईसी एसिया विद्यार्थी डिम्याट खाता योजनाअन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता, अनलाइनमार्फत डिम्याट खाता खोल्दा १ घन्टाभित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउनेलगायतका योजना सञ्चालन गरिरहेको छ। 

पछिल्लो समयमा एक नेपाली, एक डिम्याट खाता अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरी सेवा ग्राहीलाई थप सुविधा प्रदान गर्ने मुख्य उद्देश्यका साथ निःशुल्क रुपमा डिम्याट र मेरो सेयर खाता खोलिदिनुका साथै पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था मिलाएको छ। डिम्याट खाता खोल्ने सेवाग्राहीको संख्या बढेसँगै ग्राहकको आवश्यकताअनुरुपको जानकारी उपलब्ध गराउने मुख्य उद्देश्यका साथ छुट्टै कस्टमर केयर युनिट खडा गरी सेवा प्रदान गर्न सुरु गरिसकेको छ। 

क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत २०७८ साल चैत मसान्तसम्ममा ११ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म ८ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र १५ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ। 

यसका साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नको लागि आसाय पत्र प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लागनी कोषअन्तर्गत प्राइभेट इक्विटी÷भेन्चर क्यापिटल सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ। 

हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पुर्याउन डिम्याट तथा मेरो सेयर खाता खोल्न, नवीकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाएको छ। यसका साथै आगमी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाइज रुपमा उपत्यकाबाहिरबाट समेत अनलाइनमार्फत गर्दै लैजाने रणनीति लिएको छ।