काठमाण्डौ । सहज एवं सबल बैंकिङको मूल सिद्घान्तअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। 

बैंकले यही भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्। सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीहरुलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन्। 

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबैंकभित्र रहेको ‘आईरेमिट’ आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्। यसरी दैनिक अधिकतम रु. २५ हजारसम्म रकम पठाउन सकिनेछ। 

यस माध्यमबाट पठाएको रकम देशभर रहेका एनआईसी एशिया बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ। डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा ग्राहकको अमूल्य समयको बचत गर्नसमेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा एनआईसी एशिया मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यो बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ।