काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ‘एनआईसी एसिया ग्रोथ फन्ड’ र ‘एनआईसी एसिया ब्यालेन्सड् फन्ड’को इकाइमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको प्रतिफलका लागि यी दुवै योजनाको इकाइमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिइकाइ ग्रोथ फन्डको ९.२५ रुपैयाँ र ब्यालेन्सड् फन्डको ८.७८ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी दुवै योजनाको प्रतिइकाइ मूल्य क्रमशः १०.५५ रुपैयाँ र १०.०८ रुपैयाँ थियो।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका यी दुवै फन्डको प्रतिफल वितरणार्थ आज कात्तिक १५ गते बुक क्लोज गरिएको छ। यसको अर्थ हिजो कात्तिक १४ गतेसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य भएका छन्। 

एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुका लागि १३ प्रतिशत (करसहित) र ब्लालेन्सड् फन्डका लागि पनि १३ प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरिएको छ।