काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ। 

बैंकले काठमाण्डौस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिस्टर्ड  अफिस (थापाथली) शाखा, रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगन्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो। क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ। 

यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ समयभित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ। खाता नम्बर र मोबाइल नम्बरका आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा रु. ५०० र रु. १००० दरका नोटहरु गरी एकपटकमा अधिकतम रु.९९ हजार ५०० र दैनिक अधिकतम रु.९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिनेछ।

रकम जम्मा गर्ने प्रक्रियालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (वान टाइम पासवर्ड–ओटीपी) कोड प्राप्त हुनेछ। बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ। 

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ। बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफैँ रकम गन्ने र नक्कली नोटहरु देखिएमा सो नोट छुट्याउनेसमेत गर्छ। बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरु सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहकलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। 

यसका साथै बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहकको अत्यावश्यक बैंकिङ सेवालाई अझ सहज एवं सरल बनाउदै लैजाने अठोट लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँं ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।