काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको २५ औँ वार्षिक साधारणसभा आज काठमाण्डौको तिलगंगास्थित होटेल आनन्द प्रालि (आरोग्य हल) मा सम्पन्न भएको छ। 

बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरुउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन तथा थप गर्ने प्रस्ताव पारित गरेको छ। 

सभाले मिति २०७९ कात्तिक २ गतेमा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण सेयरधनी समूहका तर्पmबाट सञ्चालकमा वसौटी–६ कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१ काठमाण्डौनिवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदनसमेत गरेको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।