काठमाण्डौ । डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि ल्याएको भिडियो केवाईसी (भीकेवाईसी) सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ई–मेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ। 

अनलाइन खाता खोल्ने ग्राहकका लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुआत गरिसकेको बैंकले अब थप पाँचवटा सेवासमेत यस प्रणालीमा जोडेको हो।

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरु बैंकको वेबसाइट nicasiabank.com मा रहेको ‘अप्लाई नाउ’मा ट्याब गरी भीकेवाईसीबाट उल्लेखित सेवाहरुमध्ये ग्राहकले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सक्नेछन् र ग्राहकले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ। 

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरु ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र वा मतदाता परिचयपत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरेबमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ।

यस नयाँ सेवाको सुरुआतसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्क्रिय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भिडियो केवाईसी सेवा निकै नै लाभदायी हुनेछ। हाल ३७ लाखभन्दा बढी ग्राहकमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहेका लाखौँ ग्राहकले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिक रुपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरु मध्येको हो। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। 

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालय स्थापना गरेको छ।