काठमाण्डौ । डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्नु वाञ्छनीय रहेको हुँदा भौतिक दूरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु नै आजको आवश्यकता ठानी आफ्ना ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको बैंकले दसैंमा ग्राहकले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ।

यो योजना बैंकमा आबद्ध ग्राहकलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ। यस योजना अवधिभर बैंकका तर्फबाट एकजनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन्। उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ।

यस योजनाअन्तर्गत बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमा रहेको ‘डिजिटल दक्षिणा’ मा ट्याप गरी आफूले दिन चाहेको रकम, अकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमाकर्समा दक्षिणाजस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ।